काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–१, नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव तीन दिनपछि फेला परेको छ।
चैत ७ गते माछा मार्दै गर्दा बेपत्ता भएका स्याङतानको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालित थियो। खोजी कार्य बिहीबार र शुक्रबार पनि निरन्तर जारी रहँदा, आज बिहान साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बागमती नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो। सुरक्षा निकायको टोलीले डुंगा प्रयोग गरी शवलाई नदी बाहिर निकालेर पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।