काठमाडौँ । आज विश्व पानी दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ। पानीको महत्व, यसको दिगो उपयोग तथा स्रोत संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष मार्च २२ मा यो दिवस मनाउने गरिन्छ।
सोहीअनुसार आज पनि सरकारी निकाय तथा विभिन्न सामाजिक सङ्घसंस्थाहरूले सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। जलाधार क्षेत्रको संरक्षण, स्वच्छ खानेपानीको अभावले निम्त्याउने स्वास्थ्य समस्याबारे जानकारी दिनुका साथै पानीको सही प्रयोगबारे सर्वसाधारणलाई सचेत गराउने लक्ष्यसहित दिवस मनाइएको हो। विश्वभर पानीका स्रोत क्रमशः घट्दै गइरहेको सन्दर्भमा तिनको संरक्षणमा सबै देशहरू गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै संयुक्त राष्ट्रसंघले सन् १९९२ देखि प्रत्येक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो।