काठमाडौँ । चैत २ गते परेको हुरीले चितवनमा केराखेतीमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार, चार करोड रुपैयाँभन्दा बढीको केरामा क्षति भएको जनाइएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेती प्रभावित क्षेत्रहरूको अनुगमन गरिएको छ।
सो क्रममा २० वटा फार्ममा क्षति परीक्षण गरिएको थियो। हुरीले भरतपुर महानगरपालिका वडा नं ७ र २३, रत्ननगर नगरपालिका ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा नं १३, कालिका नगरपालिका वडा नं २ देखि ५ सम्मका क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्याएको छ। अनुगमनमा बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म केरामा क्षति देखिएको छ। मालभोग केरा ७८ प्रतिशत र जीनाइन केरा २२ प्रतिशतले प्रभावित भएको तथ्याङ्क छ। केरा सुपरजोन चितवनका संयोजक विष्णुहरीले भने, ‘केराखेतीको बीमा सुरु हुने समय ढिलो भएकाले किसानहरू थप चिन्तित छन्। गत वर्षको क्षतिपूर्ति पनि अझै पाउन सकेका छैनन्।’चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले पनि जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको बताउँदै, हुरीका कारण ठूलो क्षति पुगेको र क्षतिपूर्तिको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिए। किसानहरू बीमाबाट क्षतिपूर्ति पाउने आशा राखेका छन्, तर ढिलाइ हुँदा उनीहरू निराश बन्दै गएको उल्लेख गरिएको छ।