काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौँमा जारी छ। शुक्रबार नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। महाधिवेशनको मुख्य नाराः “प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं” रहेको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशन उद्घाटन गरेका थिए। महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने तथा विभिन्न प्रस्तावहरू पारित गर्ने तयारी गर्दैछ। शुक्रबार स्वयम्भुमा बन्दसत्र सुरु हुँदै २१ सदस्यीय नयाँ कार्य समिति चयन हुने जनाइएको छ। मुख्य अतिथि बाँनियाले आदिवासी समुदायलाई अधिकारको मुद्दा मात्रै नभई कर्तव्यको मुद्दा पनि अघि बढाउन आव्हान गरेका थिए। यसैगरी, अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी अधिकारको रक्षा गर्न एकताको आवश्यकतालाई जोड दिएका थिए। पूर्वमन्त्री सीता गुरुङले पनि राज्यका सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न राज्यलाई सक्रिय हुनुपर्ने धारणा राखिन्।