काठमाडौँ। सर्लाहीको एक पोखरीमा डुबेर एक युवकको ज्यान गएको छ। मलंगवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका–२ इनर्वाका २८ वर्षीय प्रेमकुमार यादवको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब १ बजेको समयमा उनी पोखरीमा डुबेर बेपत्ता भएका थिए। स्थानीयले उनलाई डुब्दै गरेको देखेपछि तुरुन्तै प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको थियो। लामो समयसम्म खोज्दा पनि फेला नपरेपछि स्थानीयको सहयोगमा माछा मार्ने जाल प्रयोग गरेर साँझ करिब साढे ५ बजेतिर शव बाहिर निकालिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।