काठमाडौँ । जनकपुरधाममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान विश्वकर्मा चोकस्थित एक सटरअगाडि लडिरहेको अवस्थामा ती पुरुषको शव भेटिएको हो।
पहिचान खुल्न नसकेको उक्त व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। स्थानीयवासीले बिहानै सडक किनारमा लडेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ भने मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। स्थानीयका अनुसार ती व्यक्ति अघिल्लो दिनदेखि सोही क्षेत्र वरपर घुमिरहेको देखिएको थियो।