काठमाडौँ । अमेरिका र इजरायलद्वारा इरानमाथि भएको हवाई आक्रमणपछि बढ्दै गएको द्वन्द्व तत्काल अन्त्य गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगअगाडि प्रदर्शन गरेको छ।
समाजले बिहीबार बिहान महाराजगन्जस्थित अमेरिकी दूतावास र लाजिम्पाटस्थित इजरायली दूतावास अगाडि, साथै दिउँसो दरबारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले युद्ध अन्त्य गरी शान्ति स्थापना गर्न सबै पक्षलाई आग्रह गरेका थिए। प्रदर्शनकारीहरूले ‘युद्ध रोक, शान्ति प्रवर्द्धन गर’, ‘हिंसारहित समाज र युद्धरहित विश्व हाम्रो चाहना’, ‘आक्रमण बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। साथै, अमेरिका, इजरायल र इरानलाई आक्रामकता त्याग्दै शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्बन गर्न आह्वान गरिएको थियो।
प्रदर्शनपछि शान्ति समाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नाममा लेखिएको पत्र अमेरिकी दूतावासमार्फत बुझाएको छ। पत्रमा जारी युद्धले विश्व शान्तिमा गम्भीर असर पार्ने भन्दै तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धनका लागि पहल गर्न आग्रह गरिएको छ। प्रदर्शनमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति गोविन्द खनाल, सल्लाहकार रामप्रसाद जोशीसहित विभिन्न शान्तिवादी अभियन्ताको सहभागिता रहेको थियो। यसैबीच, शान्ति समाजका विभिन्न जिल्ला शाखाहरूले पनि बुटवल, सुर्खेत, भरतपुर, नेपालगन्ज, नुवाकोट, सल्यान, पाल्पा, पोखरा, बिर्तामोड, तेह्रथुम र तम्घासमा प्रदर्शन गर्दै युद्ध अन्त्यको माग गरेका छन्।