काठमाडौँ । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेपछि घटनाले विवादको रूप लिएको छ। माइती पक्षले युवतीको हत्या भएको आरोप लगाएको छ भने प्रहरीले पति पक्राउ गरी अनुसन्धान थालेको छ।
गणेशमान चारनाथ नगरपालिका–४ निवासी २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनका पति मुकेश धनखोटी यादवसँग उनले पाँच वर्षअघि प्रेम विवाह गरेकी थिइन्। मृतकका दाजु मनिषकुमार महतोका अनुसार, सन्तान नभएको विषयलाई लिएर विभामाथि लामो समयदेखि शारीरिक तथा मानसिक यातना दिइँदै आएको थियो। घटनापछि उनको शरीरमा नीलडाम देखिएको भन्दै परिवारले हत्या भएको दाबी गरेको छ। माइती पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा पति मुकेशलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।