काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय भेदभाव अन्त्य गर्न राज्यको संवेदनशीलता अझै कमजोर रहेको बताएका छन्। बुधबार काठमाडौँमा जातीय भेदभाव उन्मुलन अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले बहिष्करणको समस्या अत्यन्त विकराल र त्रासपूर्ण रहेको बताए।
अध्यक्ष विश्वकर्माले राजधानीमै यस्तो अवस्था देख्दा ग्रामीण क्षेत्रका दलित समुदायले कस्तो पीडा भोगिरहेका होलान् भन्दै प्रश्न उठाए। उनले भने, “बहिष्करणको महाभारत यस्तो विकराल र त्रासपूर्ण छ कि यसको आतंकले देशलाई भष्म पारिरहेको छ। कुनै आयोगको अध्यक्ष मन्त्रालय जाने बेला सचिवको व्यवहार त्यस्तो हुन्छ कि जस्तो किरा फट्याङ्ग्रा वा कुकुर–बिरालो आएको हो।” उनले थपे, त्यसैले गाउँमा दलितले झन कस्तो भोगाइ भोगिरहेका होला विश्वकर्माले नेपालको अर्थतन्त्र कृषिमा आधारित भए पनि कमजोर र कुपोषित रहेको टिप्पणी पनि गरे। उनले भने, नेपालको अर्थतन्त्र कृषिमा आश्रित छ भनिन्छ, तर त्यो ख्याउटे र कुपोषित अवस्थामा छ। यस्तो अर्थतन्त्रले जनताको कल्याण गर्न सकेको छैन। सुधार नगरे देशको विकास सम्भव छैन। त्यसैगरी, उनले बहिष्करणको विषयमा व्यापक छलफल आवश्यक भए पनि सिंहदरबारले पर्याप्त चासो नदेखाएको गुनासो गरे। “बहिष्करणको महाभारत विषयमा जति छलफल गरिन्छ, उतिनै निराकरणको बाटो खुल्छ। तर सिंहदरबार छलफल गर्न चाहँदैन, वडा अध्यक्षहरू दलितको विषयमा हुने कार्यक्रममा आउँदैनन्, उनले भने। यद्यपि, नयाँ पुस्ता जागरूक हुँदै आएको उनले बताए। उनले भने, “हाम्रो प्रयासले गर्दा समस्याबाट उन्मुक्ति हुने सम्भावना बढेको छ, र युवाहरूमा यसबारे चेतना आउँदैछ।