काठमाडौँ । आइएमई हस्पिटालिटीले इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापालाई नियुक्त गरेको छ। थापाको नियुक्ति यही चैत ५ गतेदेखि लागू हुनेछ। थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव छ। उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा उच्चस्तरीय होटल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
आइएमई हस्पिटालिटीमा आवद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृत थिए, जहाँ उनले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे र भेन्यूहरूको व्यवस्थापन गरेका थिए। त्यसअघि उनी काठमाडौँको होटल याक एण्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनको सिजी हस्पिटालिटी र भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा नेतृत्वदायी भूमिकामा थिए। थापाले मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी र रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग काम गरेको अनुभव पनि छन्। कम्पनीको विश्वास अनुसार, थापाको नेतृत्वले इला होटल एण्ड रिसोर्टको सेवा स्तर उकास्न, सेवा संस्कृतिलाई सुदृढ गर्न, नेपालका विभिन्न पर्यटकीय गन्तव्यसम्म नेटवर्क विस्तार गर्न र दिगो तथा परिणाममुखी वृद्धि हासिल गर्न योगदान दिनेछ। आइएमई हस्पिटालिटीले लाजिम्पाटस्थित होटलले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैँडाकोटस्थित होटल इला लगायतका विभिन्न होटल र रिसोर्टको व्यवस्थापन हेर्ने गर्छ। आइएमई हस्पिटालिटी आइएमई ग्रुपको आतिथ्य क्षेत्रअन्तर्गतको इकाइ हो।