काठमाडौँ । सोमबार साँझ आएको हावाहुरी र असिनापानीले धनकुटाका सरकारी कार्यालय, विद्यालय, निजी घर, गोठ र कृषि बालीमा लाखौँ रुपैयाँबराबरको क्षति पुर्याएको छ। कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडक हावाहुरीका कारण अवरुद्ध भए पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अवरोध हटाएपछि मंगलबार बिहानदेखि सडक सञ्चालनमा आएको छ।
हावाहुरीले नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुर्याएपछि जिल्लाभर विद्युत सेवा बन्द भएको छ। केही स्थानमा बेलुकासम्म विद्युत आपूर्ति पुनः सुरु गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। जिल्लाका अधिकांश घरको छाना उडेको, गोठ र सवारीसाधनमा क्षति पुगेको भए पनि हालसम्म मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरी र स्थानीय प्रशासनले हाल क्षतिको पूर्ण विवरण संकलन गर्दैछ र जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गरिने जानकारी दिइएको छ।