काठमाडौँ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका २ पुडेनी मा सोमबार ढुङ्गा प्रहार गर्दा एक जनाको ज्यान गएको छ। पुडेनी बस्ने करिब ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुङ्गा प्रहार भएपछि घटनास्थलमै उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार सोही ठाउँ बस्ने करिब ४५ वर्षीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराले सर्वाशको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए। घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिको बाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो। कुटपिटमा संलग्न धनबहादुर महतरालाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा हाल फरार रहेका छन्। फरार व्यक्तिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यसैबीच, इलाका प्रहरी कार्यालय बुढीनन्द बाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली थप अनुसन्धानका लागि खटिएको जनाइएको छ।