काठमाडौँ । उदयपुरमा रुख ढल्ने तथा हाँगा भाँचिने घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। कटारी नगरपालिका–५ तिनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिकै वीरेन्द्र चौधरीको घरमाथि सुकेको सालको रुख ढल्दा ६४ वर्षीय चौधरीको घटनास्थलमै ज्यान गएको हो।
सोही घटनामा उनकी करिब ५ वर्षीया नातिनी बिनिषा चौधरीसहित चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईंका अनुसार घाइते हुनेहरूमा कटारी–३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, कटारी–५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार रहेका छन्। घरभित्र च्यापिएकी बालिका बिनिषालाई करिब एक घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको छ। यसैबीच, कटारी नगरपालिका–८ थलियाटारमा वर्षासँगै आएको हुरीका कारण रुखको हाँगा भाँचिँदा लागेर ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको छ। गोठबाट खसीबाख्रा सार्ने क्रममा कुटमिरो रुखको हाँगा भाँचिएर घाइते भएकी तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा बेलुका चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उद्धार तथा अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।