काठमाडौँ । आइतबार परेको हावाहुरीले रामेछाप र दोलखामा व्यापक क्षति पुर्याएको छ। रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा हावाहुरीले पाँच घरको छाना पूर्ण रूपमा उडाएर ठूलो क्षति पुर्याएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिएका छन्। तामाङका अनुसार थप पाँच घरमा आंशिक क्षति भएको छ, जसमध्ये केही घरका छाना र बरन्डा उडेको छ।
घरेलु संरचना क्षतिग्रस्त हुँदा स्थानीय बासिन्दाहरूलाई बस्ने ठाउँको समस्या सिर्जना भएको छ र उनीहरू अस्थायी आश्रयमा बस्न बाध्य भएका छन्। लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा रुख ढलेर एउटा घरमा क्षति पुगेको छ। हावाहुरीका कारण घरमा क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन। दोलखामा पनि जिरी नगरपालिका र तामाकोसी गाउँपालिकामा हावाहुरीले ११ घरको छाना उडाएको प्रहरीले जनाएको छ। तामाकोसी गाउँपालिका–५ कल्लेरीमा सात घर, गाउँपालिका–१ भीरकोटमा तीन घर र जिरी नगरपालिकामा एक घरको छाना हावाहुरीले उडाएको छ।