काठमाडौँ । भारतको ओडिशा राज्यको कटक शहरस्थित एससीबी मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयू)मा आगलागी हुँदा कम्तीमा १० बिरामीको मृत्यु भएको छ। भारतीय अधिकारीका अनुसार आगो आइतबार बिहान करिब साढे दुईदेखि तीन बजेको बीचमा लागेको थियो।
आगलागी भएपछि गम्भीर अवस्थाका बिरामीहरूलाई अन्य कक्षमा सार्दा ठूलो कोलाहल मच्चिएको थियो। उद्धारकार्यका क्रममा अस्पतालका ११ कर्मचारी घाइते भएका छन् भने २३ बिरामीलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। दमकल, प्रहरी र अस्पतालका कर्मचारीले मिलेर आगो नियन्त्रणमा लिएका थिए। घटनापछि राज्यका मुख्यमन्त्री मोहनचरण माझी र स्वास्थ्य मन्त्री मुकेश महालिङ अस्पताल पुगेका थिए। प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ। सरकारले मृतकका परिवारलाई प्रत्येक जनालाई २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ।