काठमाडौँ । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको विद्युतीय ईभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
शनिबार राति करिब ८ बजेतिर गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टार क्षेत्रमा बा प्र ०१–००६ ख ८४३० नम्बरको ईभी गाडी दुर्घटनामा परेको हो। मनकामना मन्दिरबाट फर्किंदै गरेको उक्त गाडी सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने सबै ७ जना भारतीय नागरिक रहेका छन्। घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ओरालो सडकमा गाडी अत्यधिक तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।