काठमाडौँ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बाघबानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ अघि बढिरहेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बस्दै आएका करिब ३४ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार घाइते महतोलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बस र बस चालक दाङको तुल्सीपुर नगरपालिका–९ का करिब ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।