काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका उम्मेदवार रविन बज्राचार्यले संस्थामा व्यापक सुधार र परिवर्तन आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले एनआरएनएको नेतृत्व सम्हाल्दै विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने आफ्नो इच्छा रहेको बताए।
अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले आफू अध्यक्ष बनेर संस्थालाई नयाँ ढंगले अघि बढाउन चाहेको बताए। उनले सबैको साथ र सहयोग पाएमा निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे। उनका अनुसार समयसँगै संसार परिवर्तन भइरहेकाले एनआरएनए पनि त्यहीअनुसार रूपान्तरण हुन जरुरी छ। पुरानै शैलीमा काम भइरहँदा संस्थाको छवि कमजोर बनेको भन्दै उनले अब संस्थामा बृहत् एकता, पारदर्शिता र आमूल सुधार आवश्यक रहेको उल्लेख गरे। बज्राचार्यले गैरआवासीय नेपालीलाई संविधानले राजनीतिक अधिकार बाहेक अन्य धेरै अधिकार दिएको भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो गरे। बारम्बार सरकार परिवर्तन भइरहँदा ती अधिकार प्रयोग गर्न कठिनाइ भएको उनको भनाइ थियो। एनआरएनएको १२औँ विश्व महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने तय भएको छ। सोही महाधिवेशनलाई लक्षित गर्दै बज्राचार्यले बुधबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।