काठमाडौँ। सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसदको नयाँ भवनको काम अन्तिम चरणमा पुगेको छ। अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको भए पनि प्रतिनिधि सभाको मुख्य हल पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने भएको छ।
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार मुख्य हलमा भइरहेको केही प्राविधिक काम बाँकी रहेकाले तत्काल सञ्चालन सम्भव नभएको हो। उनले प्रतिनिधि सभाको मुख्य हलमा जडान भइरहेको फल्स सिलिङमा प्राविधिक समस्या देखिएकाले काम अपेक्षित गतिमा अघि बढ्न नसकेको बताए। प्रारम्भिक योजना अनुसार फल्स सिलिङको काम सकिएपछि कार्पेट बिछ्याउने, अडियो–भिडियो प्रणालीको केबलिङ गर्ने, माइक जडान गर्ने तथा आवश्यक फर्निचर राख्ने काम गर्ने तयारी थियो। तर प्राविधिक जटिलताका कारण मुख्य हल पूर्ण रूपमा तयार हुन अझै करिब १०–१२ दिन लाग्ने अनुमान गरिएको छ। मुख्य हल तयार नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गरिएको छ। श्रेष्ठका अनुसार नयाँ संसद भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभा सञ्चालन गर्न मिल्ने गरी तयार पारिएको छ। सो हलमा सांसदहरूको शपथ ग्रहण कार्यक्रमका साथै आवश्यक परे प्रतिनिधि सभाको बैठक पनि सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
उनले आगामी केही दिनभित्र उक्त हल संसद सचिवालयलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए। चैत १ गतेसम्म प्रतिनिधि सभा सञ्चालन गर्न मिल्ने हल मात्रै हस्तान्तरण गर्ने योजना रहेको र सम्पूर्ण भवन भने त्यसपछि मात्र पूर्ण रूपमा हस्तान्तरण गरिने उनले स्पष्ट पारे। यसैबीच राष्ट्रिय सभाको बैठक भने हाल सिंहदरबार परिसरभित्रकै कृषि समितिको पुरानो हलबाट सञ्चालन भइरहेको छ। अहिले संसद भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको विभागले जनाएको छ। निर्माणस्थलमा दैनिक करिब ३८० देखि ४१० जना कामदार तीन शिफ्टमा २४ सै घण्टा खटिएका छन् भने प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको छ। विभागका अनुसार आगामी एकदेखि डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने अनुमान गरिएको छ। संसद भवन निर्माणमा केही ढिलाइ हुनुका विभिन्न कारण रहेका छन्।
निर्माण सुरु हुनुअघि सो स्थानमा नेपाली सेनाको चण्डीदल गण लगायतका सैन्य संरचना रहेकाले उनीहरूलाई अन्यत्र सार्नुपर्ने अवस्था थियो। नयाँ स्थानमा संरचना निर्माण गरी सेनालाई स्थानान्तरण गर्न समय लागेको विभागले जनाएको छ। त्यसपछि सुरु भएको निर्माण कार्य कोभिड–१९ महामारीका कारण प्रभावित भएको थियो। महामारीका बेला लागू गरिएको लकडाउन तथा अन्य प्रतिबन्धका कारण निर्माण प्रक्रिया केही समय अवरुद्ध भएको बताइएको छ। साथै भवनमा प्रयोग हुने केही विशेष सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले समयमै सामग्री उपलब्ध नहुँदा पनि काम प्रभावित भएको थियो। निर्माण अवधिमा भएका विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनले पनि काममा असर पारेको विभागको भनाइ छ। विभागका अनुसार आन्दोलन छोटो समयका भए पनि त्यसको प्रभाव निर्माण कार्यमा झण्डै १०–१२ दिनसम्म पर्ने गरेको छ।
समय केही लम्बिए पनि परियोजनाको लागत भने नबढ्ने विभागले स्पष्ट पारेको छ। सिभिल निर्माणतर्फ करिब ५ अर्ब ५० देखि ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ भने इन्टेरियर निर्माणका लागि थप २ अर्ब ३४ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ। विभागका अनुसार यही सम्झौता लागतभित्रै सम्पूर्ण काम सम्पन्न गरिनेछ। करिब १५० रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सम्पूर्ण गतिविधि सोही भवनबाट सञ्चालन हुनेछन्। यसअघि संसद बैठक सञ्चालनका लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भने मूलतः सम्मेलन र विभिन्न कार्यक्रमका लागि निर्माण गरिएको संरचना हो। संविधानसभाको निर्वाचनपछि सांसदहरूको संख्या बढेपछि अस्थायी रूपमा सोही भवनलाई संसद बैठकका लागि प्रयोग गरिएको थियो। नयाँ संसद भवन पूर्ण रूपमा तयार भएपछि संसदका सबै गतिविधि एउटै परिसरभित्रबाट सञ्चालन हुने व्यवस्था मिलाइने बताइएको छ।