काठमाडौँ । सुनसरीको कोसी गाउँपालिका–४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साहको उपचारका क्रममा मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक अमरलाल साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए। घाइते अमरलालको उपचारका क्रममा मृत्यु भएको हो भने पुष्पालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कोर्पियो र चालक सप्तरीको बोधेबर्साइन नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।