काठमाडौँ । पर्वत जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रूपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण देखिन थालेको छ। संक्रमणका कारण हालसम्म ४६ वटा बंगुर मरेको जनाइएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। त्यसपछि किसान तथा बंगुरपालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बंगुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो देखिने, खाना नखाने र अचानक मर्ने जस्ता लक्षण देखिएपछि नमूना संकलन गरेर परीक्षण गरिएको थियो।
कार्यालयका अनुसार र्यापिड किटमार्फत गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको हो। पशु सेवा कार्यालयले किसानलाई शंकास्पद अवस्थामा रहेका बंगुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बंगुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाएर व्यवस्थापन गर्न सुझाव दिएको छ। साथै घरपालुवा बंगुरलाई जंगली बंगुरसँग सम्पर्क हुन नदिन र होटल वा भान्साबाट निस्कने फोहोर खुवाउन नहुने पनि कार्यालयले सचेत गराएको छ।