काठमाडौँ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई आगामी पाँच वर्ष भित्र औषधि उत्पादनमा आत्मनिर्भर बनाउने सम्भावना रहेको दाबी गरेका छन्। उनले ललितपुरमा आयोजित “नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता नीतिगत सवाल” विषयक कार्यक्रममा बोलेका थिए।
अध्यक्ष अधिकारीका अनुसार, यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई जनतामुखी र उद्योगमैत्री बनाउँदै परिमार्जन गर्न आवश्यक छ। हामी आयातमुखी ऐन बोकेर हिँडिरहेका छौँ। ऐनमा नीतिगत परिवर्तन भए नेपाल पाँच वर्षभित्रै औषधि उत्पादनमा आत्मनिर्भर बन्न सक्छ र ८० प्रतिशत औषधि उत्पादन गरेर देखाउन सक्छौँ,उनले बताए। अध्यक्ष अधिकारीले नेपालका औषधि गुणस्तरीय नभएको भ्रम फैलाइँदै आएको आरोप समेत लगाएका छन्। “हाम्रो औषधि विदेशमा परीक्षण गर्न योग्य छ र हामी विदेशमा पनि निर्यात गर्न सक्षम छौँ ,” उनले स्पष्ट पारे। यस अन्तर्गत, औषधि ऐनमा आवश्यक सुधार र नीतिगत परिवर्तन भएमा नेपालमा औषधि क्षेत्रले ठूलो उन्नति गर्ने संभावना रहेको उनको भनाइ छ।