काठमाडौँ। स्वामीकार्तिक खापर गाउँपालिकाकी २६ वर्षीया दोइला भण्डारीले स्वास्थ्य संस्था पुग्नुअघि बाटोमै बच्चा जन्माएकी छन्। उनी तेस्रो सन्तानका रूपमा छोरीकी आमा बनेकी हुन्।भण्डारी स्वास्थ्य चौकी जाँदै गर्दा सुत्केरी व्यथा बढेपछि गाउँका स्वास्थ्यकर्मी विष्णा रोकायाको सहायतामा थुम्का सिउँडमा सुरक्षित रूपमा बच्चा जन्माइएको स्वास्थ्यकर्मीले जानकारी दिएकी छन्।
अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ। स्थानीयका अनुसार, दुर्गम भौगोलिक अवस्थाका कारण स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुँदा महिलाहरूलाई बाटोमै सुत्केरी हुन बाध्य पारिएको छ। बाजुरामा यस्तै घटनाहरू नियमित भइरहेकाले मातृ तथा शिशु स्वास्थ्य सेवामा अझ सहज पहुँचको आवश्यकता देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार, एक महिनामा दुई–तीन जना महिलाले बाटोमै बच्चा जन्माउने गरेका छन्। सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि दुर्गम क्षेत्रमा अझै चुनौती कायमै रहेको बताइएको छ।