काठमाडौँ । विश्वभर ऊर्जा संकट चुलिँदै गएको र इरानमा युद्ध जारी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार टेलिफोन वार्ता भएको छ। यस वर्ष यी दुई नेताबीच भएको यो पहिलो संवाद हो।
वार्तामा इरानमा जारी युद्ध, युक्रेनमा शान्ति सम्भावना, र विश्व बजारमा कच्चा तेलको मूल्य बढेको विषयमा छलफल गरिएको थियो। स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्वव्यापी तेल आपूर्ति अवरुद्ध भएको छ, जसले २०२२ मा युक्रेनमा देखिएको भन्दा ठुलो ऊर्जा संकट सिर्जना गरेको छ। ट्रम्पले आफ्नो फ्लोरिडास्थित गल्फ क्लबमा पत्रकार सम्मेलनमा भने, पुटिनले इरान मामिलामा सहयोग गर्न इच्छा देखाएका छन् र उनले रुसी–युक्रेन युद्ध समाप्त गरेर अझ ठूलो सहयोग गर्न आग्रह गरेको जानकारी दिएका छन्।
पुटिनले पनि इरान युद्धले विश्व ऊर्जा बजार जोखिममा परेको चेतावनी दिएका छन् र खाडी मुलुकबाट हुने तेल ढुवानी जुनसुकै बेला ठप्प हुन सक्ने बताएका छन्। उनले युरोपेली देशहरू दीर्घकालीन सहकार्यका लागि तयार भए रुस पुनः ग्यास र तेल उपलब्ध गराउन तयार रहेको संकेत पनि दिएका छन्। ट्रम्प प्रशासनले मध्यपूर्वको द्वन्द्वका कारण रोकिएको तेल आपूर्तिलाई कम गर्न रुसी तेललाई बजारमा आउन दिने तयारी गरिरहेको छ। यसै क्रममा भारत जस्ता देशहरूले अमेरिकी प्रतिबन्ध वा शुल्कको डर बिना रुसी तेल खरिद गर्न सक्ने सहुलियत दिने विषयमा छलफल भइरहेको छ। रूसी विदेश नीति सल्लाहकार युरी उसाकोभले यो वार्ता दुई देशबीच भावी कार्यदिशा निर्धारणमा महत्त्वपूर्ण रहेको बताए। उनले ट्रम्प पनि युक्रेन युद्धमा तत्काल युद्धविराम र दीर्घकालीन समाधानको पक्षमा रहेको व्याख्या गरेका छन्।