काठमाडौँ । चीनले पछिल्लो पाँच वर्ष घरेलु रूपमा नयाँ प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको थियो। अबको पाँच वर्षमा त्यसको उपलब्धिलाई प्रयोग गरी आफ्नो अर्थतन्त्र र विश्वमा आफ्नो स्थान बलियो बनाउने योजना चीनको रहेको छ।
यस विषयलाई चीनको राजधानी बेइजिङमा हजारौँ प्रतिनिधिहरू सहभागी हुने ‘टू सेसन’ बैठकमा मुख्य सन्देशका रूपमा प्रस्तुत गरिने अपेक्षा छ। यो बैठकमा देशको नेतृत्वले आगामी वर्षका प्राथमिकताहरू सार्वजनिक गर्ने र विधायिकाले त्यसलाई औपचारिक स्वीकृति दिने गर्छ। ‘टू सेसन’ बैठक चीनको राजनीतिक प्रक्रियाको प्रतीक मानिन्छ। यस बैठकमा आगामी आर्थिक विकासको मार्गचित्रका रूपमा १५औँ पाँचवर्षे योजना पारित गर्ने तयारी गरिएको छ। यो योजनाले चीनको आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने लक्ष्य राखेको छ।
पछिल्लो समय चीनले कृत्रिम बौद्धिकता, विद्युतीय सवारी र मानवसमान रोबोटको विकासमा सफलता हासिल गर्दै विश्व बजारमा प्रतिस्पर्धा बढाएको छ। बेइजिङले प्रविधिमा आत्मनिर्भरता र आर्थिक शक्ति विस्तारलाई प्राथमिकतामा राखेको छ। तर चीनको अर्थतन्त्रमा केही चुनौती पनि छन्। कमजोर घरेलु उपभोग, घट्दो जन्मदर र व्यापार तनावजस्ता समस्या समाधान गर्न चीनले नयाँ योजनामा ध्यान दिने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार चीनले अब प्रविधि निर्यात, कृत्रिम बौद्धिकता, चिप्स र रोबोटिक्स जस्ता क्षेत्रलाई प्राथमिकता दिँदै विश्व अर्थतन्त्रमा आफ्नो भूमिका विस्तार गर्ने रणनीति अपनाउन सक्छ।