काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सङ्गठनलाई थप बलियो बनाउने उद्देश्यसहित सातै प्रदेशमा नीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
आगामी आइतबारदेखि सुरु हुने प्रशिक्षणमा पार्टीको नीति, नेतृत्व विकास र सङ्गठन विस्तारका विषयलाई प्राथमिकतामा राखिनेछ । कार्यक्रममा केन्द्रीय तहका नेताहरूको समेत सहभागिता रहने र प्रदेशस्तरमा पार्टीको संरचना तथा कार्यशैलीबारे छलफल हुने जनाइएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार प्रशिक्षण कार्यक्रमको प्रारम्भिक योजना तयार भइसकेको छ ।
उनले शनिबारसम्म आवश्यक तयारी पूरा गरी आइतबारदेखि सातै प्रदेशमा कार्यक्रम अघि बढाइने जानकारी दिएका छन् । प्रशिक्षणका क्रममा पार्टीको आन्तरिक सङ्गठन सुदृढ बनाउने विषयसँगै आगामी स्थानीय तह निर्वाचनको तयारीबारे पनि छलफल गरिनेछ । पार्टीको नीति र नेतृत्वलाई प्रभावकारी बनाउँदै चुनावी तयारीलाई व्यवस्थित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।