काठमाडौँ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको आक्रमणपछि दुवै पक्षबाट तीखा प्रतिक्रिया सार्वजनिक भएका छन्। इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानबाट उत्पन्न खतरा हटाउन “पूर्वआक्रमण” गरिएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको क्षेप्यास्त्र प्रणाली पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्।
अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार आक्रमणको लक्ष्य इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का कमान्ड केन्द्र, हवाई रक्षा प्रणाली, क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण स्थल र सैन्य विमानस्थलहरू थिए। इजरायली सेनाले करिब २०० लडाकु विमान प्रयोग गरी पश्चिमी र केन्द्रीय इरानका करिब ५०० लक्ष्यमा बम प्रहार गरेको जनाएको छ। इजरायलले इरानी रक्षा परिषद्का सचिव अली शामखानी, आईआरजीसी कमाण्डर मोहम्मद पाकपुर र रक्षा मन्त्री अजीज नासिरजादेहसहित सात वरिष्ठ अधिकारी मारिएको दाबी गरेको छ। स्रोतहरूका अनुसार करिब ४० जना उच्च सैन्य अधिकारीको मृत्यु भएको अनुमान गरिएको छ।
इरानको कडा प्रतिक्रिया: आक्रमणपछि इरानले कडा प्रतिकार जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले उक्त कारबाहीलाई उत्तेजनाविहीन, गैरकानुनी र अवैध,भन्दै आक्रामक जवाफ दिने चेतावनी दिएका छन्। आईआरजीसीले इजरायलतर्फ करिब १५० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। साथै कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य आधारहरूमा समेत आक्रमण गरिएको दाबी गरिएको छ। अमेरिकी सेनाले भने आफ्ना सबै आक्रमण सफलतापूर्वक प्रतिरक्षा गरिएको र कुनै मानवीय क्षति नभएको जनाएको छ। आक्रमण र प्रतिआक्रमणका क्रममा इरानभर २०० भन्दा बढी मानिसको मृत्यु भएको र ७०० भन्दा बढी घाइते भएको रेड क्रिसेन्टले जनाएको छ। दक्षिणी इरानको एक विद्यालयमा भएको विस्फोटमा मात्रै १०८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन्। यता, इजरायलको तेल अभिव क्षेत्रमा इरानी मिसाइल प्रहार हुँदा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा पनि एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
उत्तराधिकारी चयन प्रक्रिया सुरु: यस घटनाक्रमसँगै इरानमा नयाँ सर्वोच्च नेता चयन प्रक्रिया सुरु हुने भएको छ। इरानी संविधानअनुसार ८८ सदस्यीय ‘विशेषज्ञहरूको सभा’ ले सर्वोच्च नेता चयन गर्ने व्यवस्था छ। हालको अस्थिर अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति, प्रधानन्यायाधीश र गार्डियन काउन्सिलका एक धर्मगुरुले संयुक्त रूपमा अन्तरिम जिम्मेवारी सम्हाल्ने जनाइएको छ। क्षेत्रीय तनाव चुलिएपछि हजारौँ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। इरानले आफ्नो हवाई क्षेत्र अनिश्चितकालका लागि बन्द गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय विमानसेवाले मध्यपूर्वका विभिन्न गन्तव्यतर्फका उडान अस्थायी रूपमा स्थगित गरेका छन्। लगातार बढ्दो तनावबीच अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र द्वन्द्व थप नचर्काउन आग्रह गरेको छ। स्थिति थप जटिल बन्दै जाँदा क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्रमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ।