काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभामा युक्रेनले प्रस्तुत गरेको रुसविरोधी प्रस्तावमा भएको मतदानमा अमेरिका तटस्थ बसेको छ। महासभामा भएको मतदानमा कुल १०७ देशले प्रस्तावको पक्षमा मत दिएका छन् भने रुस, बेलारुस, इरान र उत्तर कोरियासहित १२ देशले विपक्षमा मतदान गरेका छन्। अमेरिकासहित आर्मेनिया, ब्राजिल, हंगेरी, कजाकिस्तान, सर्बिया र उज्वेकिस्तान गरी ५१ देश भने मतदानमा तटस्थ रहेका छन्। यसैबीच, रुसकी उप–स्थायी प्रतिनिधि अन्ना येभस्टिग्नेभाले यदि कीभ प्रशासन साँच्चिकै दिगो शान्ति स्थापना गर्न इच्छुक भएको भए कूटनीतिक पहल र आपसी स्वीकार्य समाधानतर्फ ध्यान दिनुपर्ने बताएकी छन्।
उनले युक्रेनले रुस र युक्रेन दुवैका लागि दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उपाय खोज्नुको सट्टा कुनै ठोस आधारबिना महासभाको ११औँ विशेष आपतकालीन सत्रमार्फत राजनीतिक उद्देश्यले मतदान गराएको आरोप लगाएकी छन्। साथै, सुरक्षा परिषद्को निर्णयजस्तो महासभाका प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी नहुने विषय पनि उनले स्पष्ट पारेकी छन्। येभस्टिग्नेभाका अनुसार एक वर्षअघि सुरक्षा परिषद्ले प्रस्ताव २७७४ पारित गर्दै द्वन्द्वको शान्तिपूर्ण समाधानको आवश्यकता पुनः पुष्टि गरिसकेको र त्यसमार्फत युक्रेन सम्बन्धी आफ्नो धारणा स्पष्ट गरिसकेको दाबी गरिएको छ।