काठमाडौं । गाजामा इजरायली सेनाको हवाई हमलामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायका अनुसार मारिनेमा बालबालिका र महिला पनि रहेका छन्। एउटा हमलामा हतियारसहितको हेलिकप्टरले दक्षिणी सहर खान यूनिसमा विस्थापितहरू रहेको शिविरमा हमला गरेको बताइएको छ।
प्यालेस्टीनीहरूले गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्ध विरामको दोस्रो चरणपछि भएको यो सबैभन्दा ठूलो हमला भनी व्याख्या गरेका छन्। इजराइली सेनाले शुक्रवार भएको सम्झौतालाई हमासले उल्लङ्घन गरेको भन्दै त्यसकै प्रतिक्रियामा हमलाहरू गरिएको पुष्टि गरेको छ।
इजरेल र हमास दुवैले युद्ध विराम लागु भएदेखि नै उल्लङ्घनको आरोप एक अर्कालाई लगाउने गरेका छन्। एउटा विज्ञप्तिमा इजरेल डिफेन्स फोर्सेस आईडीएफले पूर्वी रफाहमा भूमिगत आतङ्ककारी पूर्वाधारबाट बाहिर निस्कने क्रममा ८ जना आतङ्ककारीको पहिचान भएको जनाएको छ। अक्टोबर सम्झौता अनुसार इजरेली फौजहरू गाजाको त्यही क्षेत्रमा परिचालित छन्। हमासले आक्रमणको निन्दा गरेको छ र अमेरिकालाई तत्काल कारबाही गर्न आग्रह गरेको छ।