काठमाडौँ । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीले अमेरिका र इरानबीच वार्ताका लागि संरचना निर्माणको काम अघि बढिरहेको बताएका छन् । खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेका बेला यस्तो इरानका उच्च अधिकारीबाट सो अभिव्यक्ति आएको हो ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानी ले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘मिडियामा सिर्जना गरिएको कृत्रिम युद्धको माहोलभन्दा फरक रूपमा वार्ताको संरचना निर्माण अघि बढिरहेको’ जानकारी दिएका छन् । तर उनले सम्भावित वार्ताको ढाँचाबारे थप विवरण दिएका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान युद्धभन्दा सम्झौता गर्न चाहेको आफूलाई विश्वास रहेको बताएका छन् ।ट्रम्पले इरानमा हालै भएका सरकारविरोधी प्रदर्शनमाथिको दमन र इरानी परमाणु कार्यक्रम सीमित गर्नुपर्ने विषयलाई लिएर बारम्बार सैन्य आक्रमणको चेतावनी दिँदै आएका छन् ।