काठमाडौं । पश्चिम अफ्रिकाको बुर्किना फासोको सैन्य सरकारले देशका सबै राजनीतिक दलहरू विघटन गरेको छ ।
बिहीबार सरकारबाट स्वीकृत अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी सबै कानुन खारेज गरेको छ । एपी न्युजका अनुसार विघटन गरिएका दलहरूको सम्पत्ति राज्यको स्वामित्वमा जानेछ ।
राजनीतिक दलहरूले स्थापना गर्दा तोकिएका मापदण्डबाट विचलन गरेको पाइएको भन्दै यो निर्णय लिइएको जनाएको छ ।
राजनीतिक दलहरूको अत्यधिक वृद्धि र गतिविधिले नागरिकबीच विभाजन बढाएको र सामाजिक संरचना कमजोर बनाएको सरकारको निष्कर्ष छ ।
सैन्य सरकारले २०२२ मा कुपमार्फत सत्ता सम्हालेयता राजनीतिक दलहरूको गतिविधि पहिल्यैदेखि निलम्बनमा थियो । मानवअधिकारकर्मी र अभियन्ताहरूले यो कदम नागरिक स्वतन्त्रता र विपक्षीमाथि थप अंकुश लगाउने प्रयास भएको बताएका छन् ।