अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल आपूर्ति गर्ने मुलुकहरूमाथि भन्सार दर बढाउन सकिने चेतावनी दिएका छन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले क्युबालाई पेट्रोलियम पदार्थ दिने देशहरूमाथि अतिरिक्त भन्सार लगाइने सम्भावना रहेको बताए। तर कुन देशमाथि कति दर वृद्धि गरिने भन्नेबारे स्पष्ट विवरण दिएका छैनन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार क्युबालाई मुख्य रूपमा भेनेजुएलाबाट तेल आपूर्ति हुँदै आएको छ। रूस र मेक्सिको पनि क्युबाका आपूर्तिकर्तामध्ये पर्दछन्।
अमेरिकाले पछिल्लो समय भेनेजुएलामा राजनीतिक हस्तक्षेप गरेपछि त्यहाँको तेल आपूर्ति प्रणाली प्रभावित भएको छ। त्यसअघि नै भेनेजुएलाको कमजोर अर्थतन्त्रका कारण क्युबातर्फको तेल निर्यात घट्दै आएको थियो।
अमेरिकी प्रशासनले भेनेजुएलाबाट क्युबाले प्राप्त गर्दै आएको तेल तथा आर्थिक सहयोग बन्द भएको दाबी गरेको छ। भेनेजुएलामा सत्ता परिवर्तनपछि क्युबामाथि दबाब बढ्न सक्ने आँकलन अन्तर्राष्ट्रिय विश्लेषकहरूले गरेका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले क्युबाको कम्युनिस्ट सरकारप्रति कडा धारणा राख्दै आएका छन्। लामो समयदेखि अमेरिकी नाकाबन्दीका कारण आर्थिक कठिनाइ भोग्दै आएको क्युबालाई भेनेजुएलाको तेल सहयोग महत्वपूर्ण मानिँदै आएको थियो।
भेनेजुएलाको तेल उत्पादन घटेपछि उक्त सहयोग कमजोर बन्दै गएको र यसले क्युबाको अर्थतन्त्रमा थप असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। हाल भेनेजुएलाबाट हुने आपूर्ति रोकिने अवस्था आएपछि क्युबाको आर्थिक अवस्था थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ।