अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे वार्तामा नआए अघिल्लो वर्षभन्दा अझ शक्तिशाली सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत सम्झौता नभए “अझ विनाशकारी हमला” हुने बताएका हुन्।
अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार अमेरिकाले विमानबाहक युद्धपोत यूएसएस अब्राहम लिंकन इरानतर्फ पठाइसकेको छ। सो क्यारियर स्ट्राइक समूह हिन्द महासागरमा प्रवेश गरिसकेको र इरान नजिक पुगिरहेको जनाइएको छ। ट्रम्पले यसलाई हालसम्मकै ठूलो र शक्तिशाली नौसैनिक समूह भनेका छन्।
गत वर्ष इरान–इसराइल युद्धका क्रममा अमेरिकाले “अपरेसन मिडनाइट ह्यामर” सञ्चालन गरी इरानका केही आणविक केन्द्रमा आक्रमण गरेको थियो। तर ती संरचना पूर्ण रूपमा नष्ट नभएको र इरानले गोप्य रूपमा परमाणु कार्यक्रम निरन्तरता दिएको आशंका पश्चिमी गुप्तचर निकायहरूले व्यक्त गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पको चेतावनी रणनीतिक दबाबको हिस्सा हो। अमेरिकाले सैन्य दबाब र इरानभित्र जारी सरकारविरोधी आन्दोलनको संयोजनमार्फत तेहरानमाथि दबाब बढाउने नीति लिएको जनाएको छ।
इरानले भने अमेरिकी चेतावनीलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै अस्वीकार गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ताका लागि तयार भए पनि दबाब स्वीकार नहुने बताएका छन्। इरानी विदेश मन्त्रालयले कुनै पनि आक्रमण भए प्रतिकार गरिने र अमेरिकी सैन्य अड्डा तथा इसराइल निशानामा पर्न सक्ने चेतावनी दिएको छ।