काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर्ड विमान दुर्घटनामा परेको भनिएको घटनापछि उनको सामाजिक सञ्जाल पोस्टप्रति चासो बढेको छ। दुर्घटनाबारे आधिकारिक विवरण आउन बाँकी रहेकै बेला अजित पवारले दुर्घटनाभन्दा केही मिनेटअघि सार्वजनिक गरेको सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।
अजित पवारले बुधबार बिहान ८ बजेर ५७ मिनेटमा सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (पूर्व ट्विटर) मा स्वतन्त्रता सेनानी लालालाजपत रायको जयन्तीको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै पोस्ट गरेका थिए। उक्त पोस्टमा उनले “महान स्वतन्त्रता सेनानी, स्वराज्यका प्रचारक ‘पञ्जाब केसरी’ लालालाजपत रायलाई उनको जयन्तीमा विनम्र श्रद्धाञ्जली। देशको स्वतन्त्रताका लागि उनले गरेको बलिदान सधैं प्रेरणादायी रहनेछ,” भनेर उल्लेख गरेका छन्।
उनको उक्त पोस्ट सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले यसलाई भावनात्मक रूपमा लिँदै विभिन्न प्रतिक्रिया दिएका छन्। धेरैले देशका एक प्रमुख नेताको अन्तिम सार्वजनिक सन्देश स्वतन्त्रता सेनानीप्रतिको श्रद्धाञ्जली दिनुलाई अर्थपूर्ण भएको टिप्पणी गरेका छन्।
यसबीच, अजित पवार मुम्बईमा क्याबिनेट बैठकमा सहभागी भएर बारामतीतर्फ जाँदै गर्दा विमान दुर्घटनामा परेको भन्ने सूचना बाहिर आएको छ। दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरणबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि आउन बाँकी रहेको जनाइएको छ।
