काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले सन् २०२४ मा भएको हिंसात्मक सडक आन्दोलनमा कथित संलग्नताका आधारमा पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाएको छ।
भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले पूर्व ढाका मेट्रोपोलिटन प्रहरी आयुक्त हबीबुर रहमान, पूर्व संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई मृत्युदण्ड सुनाएको हो।
त्यही मुद्दामा ढाकाका सहायक प्रहरी आयुक्त मोहम्मद इमरूललाई ६ वर्ष, प्रहरी निरीक्षक अर्शद होसैनलाई ४ वर्ष तथा कन्स्टेबल सुजन होसैन, इमाज होसैन र नासिरुल इस्लामलाई जनही ३ वर्ष कैद सजाय सुनाइएको छ।
मृत्युदण्ड पाएका तीन पूर्व प्रहरी अधिकारी र सहायक आयुक्त इमरूलमाथि अनुपस्थितिमै मुद्दा चलाइएको थियो। उनीहरू यसअघि फरार घोषित भएका थिए। अन्य अभियुक्त भने अदालतमा उपस्थित भई सुनुवाइ प्रक्रियामा सहभागी भएका थिए।
न्यायाधीकरणले २०२४ अगस्ट ५ मा ढाकाको चंखारपुल क्षेत्रमा भएको घटनामा अभियुक्तहरूलाई दोषी ठहर गरेको हो। उक्त दिन प्रहरीको गोली लागेर छ जनाको मृत्यु भएको थियो। यही घटनापछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार पतन भएको थियो।
यसअघि सोही न्यायाधीकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइसकेको थियो। यो फैसला पुनर्गठित न्यायाधीकरणको दोस्रो निर्णय हो।
न्यायाधीकरणका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले जेल सजाय पाएका अभियुक्तहरूलाई दिइएको सजाय अपेक्षाकृत कम भएको भन्दै असन्तोष व्यक्त गरेका छन्। उनले अदालतको निर्णयविरुद्ध पुनरावेदन दर्ता गरिने जानकारी दिएका छन्।
यसअघि नोभेम्बरमा विद्यार्थी नेतृत्वको आन्दोलन दमनसँग जोडिएका मानवता विरुद्धका अपराध अभियोगमा शेख हसिनालाई पनि अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको थियो। फैसलामा न्यायाधीकरणले उनलाई सयौं प्रदर्शनकारीको ज्यान जाने गरी गरिएको दमनको मुख्य योजनाकार भनेको थियो।