काठमाडौं । प्रतिबन्ध र अमेरिकी आक्रमणको चेतावनीबीच इरानका सर्वोच्च नेता अली होसेनी खामेनीलाई उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको इरानी पक्षले जनाएको छ। तर, उनी बंकरमा लुकेको भन्ने खबरलाई तेहरानले अस्वीकार गरेको छ।
भारतको मुम्बईस्थित इरानका कन्सुलर जनरल सइद रेजा मोसायब मोतलाघले भारतीय सञ्चारमाध्यम एनडिटिभीसँगको अन्तर्वार्तामा खामेनी सुरक्षित रहेको र नियमित रूपमा अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन्। उनका अनुसार खामेनी भिडियो कन्फरेन्सलगायत माध्यमबाट बैठकहरू गरिरहेका छन्।
कन्सुलर जनरल मोतलाघले इरानमा भएका पछिल्ला विरोध प्रदर्शनमा विदेशी गुप्तचर संस्थाहरूको संलग्नता रहेको आरोप पनि लगाए। उनका अनुसार केही समूहले बाह्य निर्देशनमा तोडफोड र हिंसात्मक गतिविधि गरेका थिए। उनले प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिक, सुरक्षा निकायका सदस्य र कथित आतंककारीको मृत्यु भएको दाबी गरे।
उनले इरान र भारतबीचको सहकार्य प्रतिबन्धको धम्कीका बाबजुद निरन्तर अघि बढाउने प्रयास भइरहेको पनि बताए। अमेरिकाले चाल्न सक्ने सम्भावित कदमबारे प्रश्न गर्दा उनले इरान आफ्नो सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको प्रतिक्रिया दिए।
इन्टरनेट सेवा बन्द गरिएको विषयमा उनले सुरक्षा अवस्थाका कारण अस्थायी रूपमा इन्टरनेट रोकिएको र हाल क्रमशः सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए। केही दिनभित्र पूर्ण रूपमा इन्टरनेट सेवा सुचारु हुने अपेक्षा गरिएको उनको भनाइ छ। साइबर आक्रमणको सामना पनि इरानले गरिरहेको उनले बताए।
यसअघि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खामेनी सार्वजनिक रूपमा नदेखिएको र बंकरमा बसेको दाबी गरेका थिए। तर, इरानी पक्षले ती दाबीलाई निराधार भन्दै खण्डन गरेको छ।
इरानी सर्वोच्च नेता खामेनीले हालै भएका प्रदर्शनका क्रममा भएको क्षतिका लागि अमेरिका र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठहर गर्दै दोष ‘देशद्रोही तत्व’माथि लगाएका थिए।