काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहबीच सार्वजनिक बहस (पब्लिक डिबेट) गर्ने विषयलाई लिएर चर्किएको बहसमा नायिका केकी अधिकारीले पनि धारणा सार्वजनिक गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै अधिकारीले लोकतन्त्रलाई सुदृढ बनाउन बहस र प्रश्न अनिवार्य हुने उल्लेख गरेकी छन्। ओलीले सार्वजनिक बहसका लागि तयार रहेको घोषणा गरेपछि बालेन शाहले एउटै मञ्चमा उभिन अस्वीकार गरेको प्रसंगसँग उनको टिप्पणी जोडिएको देखिन्छ।
अधिकारीले आफ्नो पोस्टमा लेखेकी छन्, “बहस र प्रश्नले नै लोकतन्त्रलाई बलियो बनाउँछ। प्रश्न नगर्ने र जवाफ नखोज्ने बानीको परिणाम हामीले धेरै पटक भोगिसकेका छौँ।”
उनले आगामी निर्वाचनको सन्दर्भमा अब जनप्रतिनिधि, राजनीतिक दल र नागरिक कसैलाई पनि प्रश्नबाट उम्किन नहुने धारणा व्यक्त गरेकी छन्। “अब त्यस्तो छुट कसैलाई छैन - न जनप्रतिनिधिलाई, न राजनीतिक दललाई, न हामी नागरिकलाई,” उनले लेखेकी छन्।
केकी अधिकारीको भनाइलाई ओली-बालेनबीचको सार्वजनिक बहससम्बन्धी विवादसँग जोडेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बहस सुरु गरेका छन्। कतिपयले उनको अभिव्यक्तिलाई सार्वजनिक बहसको पक्षमा आएको सन्देशका रूपमा लिएका छन्।
उनले आफ्नो पोस्टमा “सजग प्रश्न, स्पष्ट जवाफ र सचेत मतदान नै आजको आवश्यकता हो” भन्दै मतदाताले पनि नेताहरूका एजेन्डा, विगतका काम र भावी योजना बुझेर मतदान गर्नुपर्ने सन्देश दिएकी छन्।
ओलीले सार्वजनिक बहसका लागि सबै पक्ष तयार हुनुपर्ने बताएका बेला बालेन शाहले सो प्रस्ताव अस्वीकार गरेपछि बहसको विषय राजनीतिक र सामाजिक वृत्तमा चर्चा बनेको छ। यही पृष्ठभूमिमा केकी अधिकारीको टिप्पणी आएको हो।