अमेरिकाको जर्जिया राज्यमा एक दर्दनाक गोलीकाण्ड भएको छ, जहाँ भारतीय मूलका एक व्यक्तिले आफ्नै श्रीमती र तीन जना नातेदारको गोली हानी हत्या गरेका छन्। घटनालाई घरेलु विवादसँग जोडेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपी ५१ वर्षीय विजय कुमार हुन्, जसलाई नियन्त्रणमा लिइसकिएको छ। घटना शुक्रबार बिहान करिब २ः३० बजे जर्जियाको ब्रुक आइभी कोर्ट क्षेत्रमा भएको हो। स्थानीय समयअनुसार गोली चलेको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घरभित्र प्रवेश गर्दा प्रहरीले चार जनाको शव फेला पारेको थियो। मृतकहरू विजय कुमारकी श्रीमती ४३ वर्षीया मीमु डोगरा, ३३ वर्षीय गौरव कुमार, ३७ वर्षीया निधि चन्दर र ३८ वर्षीय हरिश चन्दर रहेको पुष्टि गरिएको छ। सबैको शरीरमा गोली लागेको चोट देखिएको प्रहरीले जनाएको छ।
घटनाको समयमा घरभित्र रहेका तीन जना बालबालिकाले अलमारीभित्र लुकेर ज्यान जोगाएका थिए। तीमध्ये विजय कुमार र मीमु डोगराका १२ वर्षीय छोरा पनि थिए। साहस देखाउँदै ती बालकले आफैं आपतकालीन सेवा नम्बर ९११ मा फोन गरी प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए। यही फोनकलका कारण प्रहरी केही मिनेटमै घटनास्थलमा पुग्न सफल भएको बताइएको छ।
प्रहरीका अनुसार बालबालिकालाई कुनै शारीरिक चोट लागेको छैन। घटनापछि उनीहरूलाई परिवारका एक सदस्यको जिम्मा लगाइएको छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।