जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संसदको तल्लो सदन विघटन गर्दै आकस्मिक निर्वाचनको घोषणा गरेकी छन्। शुक्रबार प्रतिनिधि सभा विघटनको निर्णय गर्दै उनले आगामी फेब्रुअरी ८ मा निर्वाचन गराउने घोषणा गरेकी हुन्।
जापान टाइम्सका अनुसार यो निर्णयसँगै जापानमा निकै छोटो समयमै निर्वाचन हुन लागेको छ। ब्लुमबर्गले जापानको इतिहासमै सबैभन्दा कम समयको तयारीमा चुनाव हुन लागेको जनाएको छ।
ताकाइची गत अक्टोबरको अन्त्यतिर प्रधानमन्त्री बनेकी थिइन्। त्यसबेला तल्लो सदनका ४६५ सदस्य मध्ये २३५ सांसदको समर्थन पाउँदै उनले सरकारको नेतृत्व सम्हालेकी थिइन्, जबकि बहुमतका लागि २३३ मत आवश्यक पर्थ्यो। हालको झिनो बहुमतले सरकार सञ्चालनमा चुनौती देखिएपछि सहज बहुमत सुनिश्चित गर्न आकस्मिक निर्वाचनको निर्णय गरिएको विश्लेषण ब्लुमबर्गले गरेको छ।
उनको यो कदमलाई संसदभित्रको शक्ति सन्तुलन मजबुत बनाउँदै आफ्नो नेतृत्वलाई थप सुदृढ गर्ने रणनीतिका रूपमा हेरिएको छ। छोटो समयमै चुनाव घोषणा भएकाले निर्वाचन प्रक्रिया मंगलबारदेखि नै सुरु हुने बताइएको छ।
चिसो मौसम र हिमपातको सम्भावना भएका क्षेत्रमा निर्वाचन हुँदा मतदाता सहभागिता केही कम हुन सक्ने अनुमान गरिएको छ। यद्यपि पछिल्लो समय महँगी नियन्त्रण र आप्रवासीसम्बन्धी नीतिका कारण ताकाइचीको लोकप्रियता बढ्दै गएको जनाइएको छ, जसले पनि चुनाव घोषणा गर्न उनलाई हौसला दिएको बताइएको छ।