युक्रेनमा चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि शुक्रबार संयुक्त राज्य अमेरिका, रुस र युक्रेनका उच्च अधिकारीहरूबीच त्रिपक्षीय छलफल हुने भएको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार वार्ता संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा हुनेछ।
यसअघि बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ ज्यारेड कुश्नरले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए। क्रेमलिनमा करिब तीन घन्टा चलेको छलफलपछि त्रिपक्षीय बैठक बस्ने तय भएको पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले जानकारी दिएका छन्। आबुधाबीमा हुने वार्ताका लागि रूसी टोलीको नेतृत्व मुख्य गुप्तचर निर्देशनालय (जिआरयू)का प्रमुख एडमिरल ओलेगोभिच कोस्त्युकोभले गर्नेछन्।
यसैबीच, स्वीट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको सम्मेलनका क्रममा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको थियो। उक्त भेटमा दुवै नेताले युक्रेनमा जारी युद्ध अन्त्य हुनुपर्नेमा जोड दिएका थिए। आबुधाबीमा कम्तीमा दुई दिनसम्म छलफल चल्ने बताइएको छ भने त्यसपछि रूसी र अमेरिकी अधिकारीहरूबीच छुट्टै वार्ता पनि हुने छ।
युक्रेन युद्ध रोक्न अमेरिकाले अघि सारेको शान्ति योजनामा अझै सहमति जुट्न सकेको छैन। विशेषगरी भू–भागको विषयमा दुवै पक्षबीच मतभेद कायमै छ। रुसले हालको नियन्त्रणरेखालाई आधार मान्नुपर्ने र पूर्वी डोनबास क्षेत्र आफ्नो नियन्त्रणमा रहनुपर्ने दाबी गर्दै आएको छ। यद्यपि उसले सम्पूर्ण डोनबास क्षेत्र कब्जा गरिसकेको छैन। युक्रेनले भने आफ्नो भूमि कुनै पनि हालतमा नछाड्ने अडान लिँदै आएको छ र भू–भागसम्बन्धी निर्णय जनमत संग्रहबाट हुनुपर्ने बताएको छ। यसै गतिरोधबीच ट्रम्पले डोनबास क्षेत्रलाई स्वतन्त्र आर्थिक क्षेत्र बनाउने प्रस्ताव अघि सारेका छन्, जसप्रति रुस केही सकारात्मक देखिएको छ।
यस्तो छ योजनाको २० बुँदा
१. युक्रेनको सार्वभौमसत्तालाई स्वीकार गरिने।
२. रुस र युक्रेनबीच आक्रमण नगर्ने सम्झौता र सीमानामा ड्रोनबाट कडा निगरानी।
३. युक्रेनलाई भविष्यको सुरक्षाका लागि बलियो ग्यारेन्टी दिइने।
४. युक्रेनी सेनाको संख्या ८ लाखमै कायम रहने।
५. अमेरिका र नेटोले युक्रेनलाई 'सामूहिक रक्षा' (आर्टिकल-५ ) सरहको सुरक्षा दिने।
६. रुसले युक्रेनमाथि कहिल्यै आक्रमण नगर्ने कुरा आफ्नो संसदबाटै कानुन पास गर्ने।
७. युक्रेनलाई निश्चित मितिमा युरोपेली संघ (ईयू) को सदस्यता दिइने।
८. युक्रेनको विकासका लागि ठूलो आर्थिक प्याकेज ल्याइने।
९. पुनर्निर्माणका लागि ८०० अर्ब डलरको कोष बनाइने।
१०. अमेरिकासँग युक्रेनको स्वतन्त्र व्यापार सम्झौता हुने।
११. युक्रेन परमाणु हतियार नभएको देशको रूपमा रहने।
१२. जापोरिज्जिया परमाणु केन्द्रको व्यवस्थापन अमेरिका र युक्रेन (वा रुससहित) ले मिलेर गर्ने।
१३. दुवै देशका विद्यालयमा एकअर्काको संस्कृति र धर्मप्रति सम्मान सिकाउने।
१४. विवादित भूमिमा हालकै युद्ध रेखामा लडाइँ रोक्ने वा निशस्त्रीकरण क्षेत्र बनाउने।
१५. भूमि सम्बन्धी सम्झौता भएपछि त्यसलाई बल प्रयोग गरेर बदल्न नपाइने।
१६. 'ड्निप्रो' नदी र 'कालो सागर' मा युक्रेनलाई व्यापारका लागि रोक नलगाइने।
१७. सबै युद्धबन्दी र कब्जा गरिएका बालबालिका तथा नागरिकहरूको फिर्ता।
१८. शान्ति सम्झौता लगत्तै युक्रेनमा चुनाव गराइने।
१९. राष्ट्रपति ट्रम्पको अध्यक्षतामा रहेको 'शान्ति परिषद्' ले सम्झौता पालनाको अनुगमन गर्ने।
२०. सबै बुँदामा सहमति भएलगत्तै तुरुन्तै युद्धविराम लागू हुने।