काठमाडौं । अमेरिकाले एकैदिन ९१ नेपालीलाई देश निकाला गरेको छ ।अमेरिकाले एकैदिन डिपोर्ट गरेका ९१ नेपालीलाई चार्टर विमानमार्फत् काठमाडौं ल्याएर छाडिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार डिपोर्ट गरिएका ९१ नेपाली सोमबार काठमाडौं आइपुगेका हुन् । यसअघि अमेरिकाले गत पुस ३ गते ७५ जना, भदौ १९ गते ३७ जना र जेठ २५ गते ३७ जना डिपोर्ट गरिएका नेपालीलाई विमान चार्टर गरेर काठमाडौं ल्याएर छाडिदिएको थियो ।
राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकाले आप्रवाससम्बन्धी नियममा कडाइ गर्दै ठूलो संख्या मानिसलाई डिपोर्ट गरिसकेको छ । अधिकांश अवैध बाटोमार्फत् अमेरिका पुगेकाहरुलाई डिपोर्ट गरिएको छ । साथै अवैध रुपमा बसेका व्यक्तिलाई देश निकाला गरिएको छ ।