काठमाडौं । भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको मेडल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन्। बिहीबार ह्वाइट हाउसमा भएको भेटका क्रममा उनले उक्त मेडल ट्रम्पलाई दिएकी हुन्।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मचाडोले भेनेजुएलाको स्वतन्त्रताप्रति ट्रम्पले देखाएको प्रतिबद्धताको सम्मानस्वरूप मेडल प्रदान गरिएको बताइन्। उनका अनुसार यो कदम प्रतीकात्मक सम्मानका रूपमा लिइएको हो।
अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गर्दै राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि मचाडो र ट्रम्पबीच भेटवार्ता भएको थियो। सोही सन्दर्भमा मेडल हस्तान्तरण गरिएको बताइएको छ।
मेडल दिँदै मचाडोले ल्याटिन अमेरिकी इतिहाससँग जोडिएको एउटा प्रसंग पनि उल्लेख गरिन्। उनका अनुसार करिब दुई सय वर्षअघि फ्रान्सेली सेनापति लायाफेटले महान् क्रान्तिकारी सिमोन बोलिभरलाई जर्ज वाशिंगटनको तस्बिर अंकित मेडल दिएका थिए, जुन बोलिभरले जीवनभर साथमा राखेका थिए।
‘आज, दुई सय वर्षपछि, बोलिभरका उत्तराधिकारीहरूले वाशिंगटनका उत्तराधिकारीलाई एउटा मेडल फर्काएका छन्,’ मचाडोले भनिन्, ‘यो नोबेल शान्ति पुरस्कारको मेडल हाम्रो स्वतन्त्रताप्रति उहाँको प्रतिबद्धताको सम्मान हो।’
सिमोन बोलिभर ल्याटिन अमेरिकामा अत्यन्त सम्मानित ऐतिहासिक व्यक्तित्व मानिन्छन्। उनले भेनेजुएलासहित विभिन्न देशलाई उपनिवेशवादबाट मुक्त गराएका थिए। उनको सम्मानमा भेनेजुएलाको औपचारिक नाम ‘बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला’ राखिएको छ भने बोलिभिया देशको नाम पनि उनकै नामबाट राखिएको हो।
यसैबीच, डोनाल्ड ट्रम्पले विगतदेखि नै नोबेल शान्ति पुरस्कार पाउने चाहना सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। पुरस्कार नपाएको विषयमा उनले नोबेल कमिटी र नर्वे सरकारको आलोचना समेत गर्ने गरेका छन्। यद्यपि, गत वर्ष नोबेल कमिटीले शान्ति पुरस्कारका लागि मचाडोको नाम चयन गरेको थियो।
नोबेल पुरस्कारसम्बन्धी नियमबारे स्पष्ट पार्दै नोबेल पीस सेन्टरले पुरस्कारको मेडल अरूलाई दिन सकिने भए पनि पुरस्कार आफैं भने हस्तान्तरण गर्न नसकिने जनाएको छ। कमिटीका अनुसार एकपटक पुरस्कार घोषणा भएपछि विजेताको हैसियत परिवर्तन हुँदैन, मेडलको स्वामित्व मात्रै फेरिन सक्छ।