काठमाडौँ । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले भारतका विभिन्न सहरका हलहरूमा ५१ दिन सफल प्रदर्शन पूरा गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ । भारतभर करिब ४० वटा हलमा रिलिज भएको यो चलचित्र हालसम्म ६ वटा प्रमुख हलमा निरन्तर रूपमा प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ ।
५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका हलहरूमा चण्डिगढस्थित पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन् । यी हलहरूमा चलचित्रले उल्लेखनीय दर्शक उपस्थिति कायम गरिरहेको जनाइएको छ । नेपालमा पनि ‘ऊनको स्वीटर’ ले उत्कृष्ट व्यापारिक सफलता हात पारेको थियो । नेपालभर ४० भन्दा बढी हलमा ५१ दिन प्रदर्शन हुँदा चलचित्रले करिब १२ करोड रुपैयाँ आम्दानी गरेको निर्माण पक्षको दाबी छ । नेपालमा प्राप्त सफलतापछि भारतमा समेत चलचित्रले मजबुत बजार बनाएको हो ।
चलचित्रमा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूह ले वितरण गरेका हुन् । भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईं पनि लामो समय भारतमै रहेका थिए । निर्माण संस्था आर्टमान्डू नेपाल प्रा।लि। ले नेपाल तथा भारतका दर्शक, वितरक र सहकार्य गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ को अन्तर्राष्ट्रिय सफलताले नेपाली चलचित्रलाई नयाँ बजार र पहिचान दिलाएको विश्वास व्यक्त गरेको छ ।