काठमाडौँ । भेनेजुएला सरकारले मानवअधिकार समूहहरूले राजनीतिक बन्दी भनेर चिनाएका कैदीहरूलाई रिहा गर्न थालेको छ। अधिकारीहरूले यस कदमलाई सद्भावनाको संकेत भनेका छन्।
स्पेनको विदेश मन्त्रालयका अनुसार पाँच जना स्पेनी नागरिक –जसमा एक जना दोहोरो नागरिकता भएका व्यक्ति पनि छन् — रिहा भएका छन्। रिहा हुनेमध्ये मानवअधिकार अभियन्ता रोसियो सान मिगुएल पनि रहेको अनुमान गरिएको छ। यो कदम अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई राजधानी काराकासमा शनिबार आकस्मिक कारबाहीमार्फत पक्राउ गरी न्यूयोर्कमा लागूऔषध तस्करीसम्बन्धी मुद्दामा उपस्थित गराएपछि आएको हो।
भेनेजुएलामा राजनीतिक बन्दीहरूको रिहाइ अमेरिकाको दीर्घकालीन माग रहँदै आएको छ, विशेषगरी निर्वाचन वा विरोध प्रदर्शनका बेला दमन बढ्दा।भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष होर्गे रोड्रिगेज –जो अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका दाजु पनि हुन् –ले राज्य टेलिभिजनमार्फत “ठूलो सङ्ख्यामा” कैदीहरू तुरुन्तै रिहा गरिने घोषणा गरे। तर उनले कति जना वा को–को रिहा भए भन्ने स्पष्ट पारेनन्।हाल भेनेजुएलाका विभिन्न कारागारमा सयौँ राजनीतिक बन्दी रहेको अनुमान छ, जसमा अहिलेसम्म थोरै मात्र रिहा भएको मानिन्छ। रोड्रिगेजले अन्तरिम सरकारले “राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्व” का लागि बन्दीहरू रिहा गरेको बताए। सुरक्षा, रक्षा र सेनासम्बन्धी विषयमा विज्ञ तथा मादुरोकी कडा आलोचक रोसियो सान मिगुएलको रिहाइ पहिलो पुष्टि गरिएको घटना हो। उनलाई फेब्रुअरी २०२४ मा काराकास नजिकैको माइक्वेटिया विमानस्थलबाट पक्राउ गरिएको थियो।
त्यसबेला उनलाई तत्कालीन राष्ट्रपति मादुरोको हत्या योजनामा संलग्न रहेको आरोप लगाइएको थियो र देशद्रोह, षड्यन्त्र तथा आतंकवादसम्बन्धी मुद्दा लगाइएको थियो। भेनेजुएलाका मानवअधिकार संस्थाहरू – जसका सदस्य वा संस्थापकहरू अझै जेलमा छन् यो घोषणालाई सावधानीपूर्वक स्वागत गरेका छन्। मादुरोका निकट सहयोगी भए पनि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको प्रशासनले अमेरिकी नेतृत्वसँग सहकार्य गर्न इच्छुक देखिएको छ, विशेषगरी मादुरो पक्राउ परेपछि र देशको भविष्यबारे ठूला घोषणाहरू आएपछि। यसैबीच, कुख्यात एल हेलिकोइडे कारागारमा ५० देखि ८० जना बन्दी रहेको अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो पक्राउपछि उक्त कारागार बन्द गरिने घोषणा गरेका थिए।
एल हेलिकोइडे राजनीतिक विपक्षीहरूलाई थुनिने स्थानका रूपमा अन्तर्राष्ट्रिय रूपमा कुख्यात छ। मानवअधिकार समूहहरूले यहाँ कुटपिट र विद्युतीय यातना जस्ता अमानवीय व्यवहार भएको आरोप लगाउँदै आएका छन्। तर मानवअधिकार संस्था प्रोभेआ ले एल हेलिकोइडे बन्द हुने सम्भावनाले देशभर सञ्चालनमा रहेका अन्य हिरासत केन्द्रहरूबाट ध्यान हटाउन नहुने चेतावनी दिएको छ। विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो – जसका निकट सहयोगीहरू अझै जेलमा छन् –ले लामो समयदेखि बन्दीहरूको रिहाइको माग गर्दै आएकी छन्। फक्स न्युजको ह्यानिटी कार्यक्रममा अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले माचाडो “अर्को साता अमेरिका आउने अपेक्षा गरिएको” बताएका छन्। माचाडोले सोही कार्यक्रममा ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार दिन चाहेको बताएकी थिइन्।
ट्रम्पले त्यसलाई “महान सम्मान” हुने प्रतिक्रिया दिएका छन्। वर्षौंदेखि भेनेजुएलाका विपक्षी र मानवअधिकार समूहहरूले सरकार आलोचकहरूलाई मौन बनाउन हिरासत प्रयोग गर्दै आएको आरोप लगाउँदै आएका छन्। २०२४ को व्यापक रूपमा विवादित निर्वाचनपछि कार्यकर्ताहरू, पत्रकारहरू र राजनीतिक विरोधीहरूविरुद्ध कानुनी कारबाही बढेको विपक्षीको दाबी छ। तर महान्यायाधिवक्ता तारेक साब लगायत सरकारी अधिकारीहरूले भेनेजुएलामा राजनीतिक बन्दी नभएको दाबी गर्दै आएका छन् र पक्राउ परेकाहरू वास्तविक अपराधमा संलग्न भएको बताएका छन्।