काठमाडौँ । तामाङ भाषामा निर्माण गरिएको बहुप्रतिक्षित चलचित्र ‘ह्वाङ तामाङ (हामी तामाङ) राजधानीका दर्शकलाई लक्षित गर्दै विशेष शोमार्फत प्रदर्शन हुन लागेको छ। जिम्बा फिल्म प्रोडक्सनको चौधौं प्रस्तुति यो चलचित्रको विशेष प्रदर्शन अष्टनारायण हल, काठमाडौंमा पुष २६ गते, शनिबार आयोजना गरिने भएको छ।
निर्देशक निमा लामा तामाङले चलचित्रमा तामाङ समाजको जीवनशैली, परम्परा, संस्कार, संघर्ष र पहिचानका विविध पाटालाई कथानकमा समेटिएको बताएका छन्। निर्माण पक्षका अनुसार फिल्मले सामाजिक यथार्थ, पारिवारिक सम्बन्ध र सांस्कृतिक गहिराइलाई रोचक र भावनात्मक रूपमा प्रस्तुत गरेको छ। चलचित्रमा जय स्याङ्तन, अभि लामा, सिताराम गोले, अनिता गोले, कल्पना वाइबा, निर्मला मोक्तान, राजकुमार स्याङतान, प्रवल थिङ, पूजा लामा, चन्द्रमाया दोङ, मङ्गल सिंह ग्याबा, छविलाल बोम्जन लगायत दर्जनभन्दा बढी लोकप्रिय कलाकारहरूको उपस्थिती रहेको छ।
संगीत, नृत्य र तामाङ सांस्कृतिक पहिरनले चलचित्रलाई थप जीवन्त बनाएको निर्माण पक्षले जनाएको छ। निर्माता प्रवल थिङ तामाङका अनुसार, ‘ह्वाङ तामाङ’ तामाङ भाषाको सम्भावना, कला र कथालाई मुख्यधारामा स्थापित गर्ने उद्देश्यले तयार पारिएको परियोजना हो। सहनिर्माता कारसाङ लामा दोङको टोलीले पनि चलचित्रलाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखेको बताइएको छ। फिल्मका शब्द–सङ्गीत निमा लामा तामाङले तयार पारेका हुन् भने छायांकन सूर्य लामाले गरेका छन्। विशेष शो पश्चात, चलचित्रले देशभरका तामाङ समुदाय बसोबास गर्ने मुख्य क्षेत्रहरूमा प्रदर्शन यात्रा सुरु गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ।