काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। उनले विशेष महाधिवेशनबाट पार्टी टुट्ने अवस्था आए सबैभन्दा पहिला आफू स्वयं महाधिवेशन हलबाट बाहिरिने बताएका छन्।
विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र विवाद चर्किँदै गएको सन्दर्भमा महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। विशेष महाधिवेशनबारे उठाइएका आशंकालाई खारेज गर्दै उनले पार्टी एकतामै रहने दाबी गरेका छन्।
‘विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन,’ शर्माले लेखेका छन्, ‘यदि पार्टी फुट्ने स्थिति आयो भने म अधिवेशनको हलबाट सबैभन्दा पहिले बाहिरिनेछु।’
पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा यसअघि पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा भइसकेको छ। उक्त महाधिवेशनमा महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापाले सहभागी हुने सार्वजनिक प्रतिबद्धता जनाइसकेका छन्।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिएको छ। तर महामन्त्रीद्वय शर्मा र थापा पक्षका नेताहरूले भने जेन–जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिले विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै आएका छन्।
विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै शर्माले राष्ट्रिय परिस्थिति, बदलिँदो चुनौती र कांग्रेसको जिम्मेवारीलाई मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्। ‘आजको नेपाल भदौ २३ अघिको नेपाल होइन,’ भन्दै उनले समयअनुकूल दृष्टिकोण, योजना र संकल्पका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका थिए। उक्त अभियानमा ४० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले समर्थन जनाएपछि विधानअनुसार विशेष महाधिवेशन गर्नैपर्ने अवस्था बनेको शर्माको भनाइ छ।
कांग्रेस विधानको धारा १७(२) अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित माग आए तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको स्मरण गराएका छन्।
हस्ताक्षर नगरेका महाधिवेशन प्रतिनिधिहरूलाई पनि अधिवेशनमा सहभागी हुन कुनै रोक नहुने उनले स्पष्ट पारेका छन्।
महाधिवेशनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नकारात्मक असर नपार्ने दाबी गर्दै शर्माले विशेष महाधिवेशनपछि निर्वाचनमा होमिँदा पार्टीको परिणाम अझ राम्रो हुने विश्वास व्यक्त गरेका छन्। ‘निष्क्रिय कांग्रेसभन्दा सक्रिय र उत्साहित कांग्रेसले राम्रो परिणाम दिन्छ,’ उनले उल्लेख गरेका छन्।
अन्त्यमा शर्माले विशेष महाधिवेशनलाई ‘बदलिएको समयअनुसारको कांग्रेस र बदल्नुपर्ने देशका लागि गरिएको संकल्प’ को रूपमा लिन सबैलाई आग्रह गरेका छन्।