काठमाडौै। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ग्रिनल्यान्ड कब्जा गर्ने सम्बन्धी ‘धम्की’ बन्द गर्न कडा शब्दमा आग्रह गरेकी छन्। उनले भनिन्, “संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्ड आफ्नो नियन्त्रणमा लिनुपर्छ भन्ने कुरा गर्नुको कुनै अर्थ छैन।” साथै उनले जोड दिँदै भनिन्, “डेनिस राज्यभित्र रहेका तीनवटै राष्ट्रमध्ये कुनै पनि राष्ट्रलाई अमेरिकाले विलय गर्ने अधिकार छैन।”
उनको यो प्रतिक्रिया ट्रम्पका सहयोगी स्टेफन मिलरकी पत्नी तथा दक्षिणपन्थी पोडकास्टर केटी मिलरले ग्रिनल्यान्डको नक्सालाई अमेरिकी झन्डाका रङमा सजाएर ‘चाँडै लेख्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि आएको हो । ट्रम्पले ग्रिनल्यान्डको रणनीतिक भौगोलिक अवस्थिति र खनिज स्रोतलाई आधार बनाएर यसलाई अमेरिकाको हिस्सा बनाउनुपर्ने सम्भावना पटक–पटक उठाउँदै आएका छन्। फ्रेडरिक्सेनको टिप्पणीपछि पनि उनले आफ्नो दाबीबाट पछि नहट्ने संकेत दिएका छन्।
डेनिस सरकारको वेबसाइटमा प्रकाशित वक्तव्यमा प्रधानमन्त्री फ्रेडरिक्सेनले आफूले अमेरिकासँग “सीधै र स्पष्ट रूपमा” कुरा गरिरहेको बताइन्। उनले डेनमार्क–“र यसैसँग ग्रिनल्यान्ड”–नाटोको सदस्य राष्ट्र भएकाले गठबन्धनको सुरक्षा प्रत्याभूतिले आच्छादित रहेको उल्लेख गरिन्। डेनमार्क र अमेरिकाबीच ग्रिनल्यान्डमा अमेरिकी पहुँच सुनिश्चित गर्ने रक्षा सम्झौता पहिले नै रहेको र आर्कटिक क्षेत्रमा सुरक्षामा लगानी बढाइएको पनि उनले भनिन्।
“त्यसैले म संयुक्त राज्य अमेरिकालाई ऐतिहासिक रूपमा निकट सहयोगी राष्ट्रविरुद्ध, अर्को देश र जनताविरुद्ध–जसले स्पष्ट रूपमा आफूहरू बिक्रीका लागि नभएको बताएका छन्–धम्की बन्द गर्न कडा आग्रह गर्छु,” उनले भनिन्। केही घण्टापछि एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो लक्ष्य दोहोर्याए। “राष्ट्रिय सुरक्षाको दृष्टिले हामीलाई ग्रिनल्यान्ड चाहिन्छ, र डेनमार्कले त्यो गर्न सक्दैन,” उनले भने।
यसअघि अमेरिकाका लागि डेनमार्कका राजदूतले केटी मिलरको पोस्टप्रति प्रतिक्रिया जनाउँदै दुवै देश सहयोगी भएको “मैत्रीपूर्ण स्मरण” गराएका थिए र डेनमार्कले आफ्नो भू–अखण्डताको सम्मान अपेक्षा गरेको बताएका थिए। यो कूटनीतिक तनाव त्यसपछि बढेको हो, जब अमेरिकाले शनिबार भेनेजुएलाविरुद्ध ठूलो सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्यूयोर्क पुर्याएको थियो। त्यसपछि ट्रम्पले अमेरिका भेनेजुएला “चलाउने” र अमेरिकी तेल कम्पनीहरूले “देशका लागि पैसा कमाउन थाल्ने” बताएका थिए।
ट्रम्पले यसअघि पनि ग्रिनल्यान्ड नियन्त्रणमा लिन बल प्रयोग गर्न सक्ने सम्भावनालाई नकारेका छैनन्। उनका अनुसार, ग्रिनल्यान्डको रणनीतिक स्थान र उच्च प्रविधिमा आवश्यक पर्ने महत्वपूर्ण खनिजको उपलब्धताले अमेरिकाको सुरक्षा हित पूरा हुन्छ। ट्रम्प प्रशासनले हालै ग्रिनल्यान्डका लागि विशेष दूत नियुक्त गर्ने निर्णय गरेपछि डेनमार्कमा आक्रोश फैलिएको थियो। ५७ हजार जनसंख्या रहेको ग्रिनल्यान्डले सन् १९७९ यता व्यापक स्वशासन पाएको छ, यद्यपि रक्षा र विदेश नीति डेनमार्कको नियन्त्रणमै छ। अधिकांश ग्रिनल्यान्डवासी दीर्घकालमा डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन्, तर जनमत सर्वेक्षणहरूले अमेरिकाको हिस्सा बन्ने विषयमा व्यापक विरोध देखाएका छन्।