काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आगामी अध्यक्ष निर्वाचनका लागि उम्मेदवार दिपकराज भुषालले संघको संस्थागत सुदृढीकरण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि लक्षित गर्दै थप दुई महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्। केन्द्र–शाखा सम्बन्ध मजबुत बनाउने र विश्वव्यापी अध्ययन गन्तव्यका चुनौतीहरूलाई रणनीतिक रूपमा सम्बोधन गर्ने यी योजनालाई भुषालको चुनावी एजेण्डाको महत्वपूर्ण विस्तारका रूपमा हेरिएको छ।
शाखा सशक्तीकरण कार्यक्रम
भुषालले प्रस्तुत गरेको शाखा सशक्तीकरण कार्यक्रम अन्तर्गत केन्द्र र शाखाबीचको सम्बन्धलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्य लिइएको छ। उनका अनुसार हरेक महिना आभासी बैठकमार्फत शाखा कार्यसमितिहरूसँग प्रत्यक्ष संवाद गरिनेछ, जसबाट शाखाहरूका समस्या, आवश्यकता र सुझावहरू केन्द्रको प्राथमिकतामा समेटिनेछन्।
यसैगरी, वार्षिक रूपमा आयोजना हुँदै आएको नेतृत्व सम्मेलनलाई अझ रणनीतिक र प्रभावकारी बनाइने भुषालको योजना छ, जसले केन्द्र–शाखाबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। तालिम र सेमिनार कार्यक्रमहरू अब काठमाडौंमा मात्र सीमित नराखी सातै प्रदेशका शाखाहरूमा विस्तार गरिनेछ, ताकि सबै सदस्यहरूले समान अवसर पाउन सकून्।
शाखाहरूको संस्थागत विकासका लागि शाखा स्रोत कोष र सहयोग सूचकमार्फत कार्यालय व्यवस्थापन, संरचनागत विकास र प्रशासनिक क्षमतामा सुधार ल्याइने प्रतिबद्धता पनि भुषालले व्यक्त गरेका छन्। साथै, प्रदेशस्तरमा आयोजना हुने क्षेत्रीय शिक्षा मेलामा केन्द्रबाट प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरी शाखाहरूको पहुँच, प्रभाव र पेशागत प्रतिष्ठा वृद्धि गर्ने योजना अघि सारिएको छ।
विश्वव्यापी अध्ययन गन्तव्यका लागि रणनीतिक कक्ष
भुषालले सार्वजनिक गरेको अर्को महत्वपूर्ण योजना विश्वव्यापी अध्ययन गन्तव्यका लागि रणनीतिक कक्ष स्थापना गर्ने हो। अष्ट्रेलिया, बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, न्युजिल्यान्ड तथा युरोपेली मुलुकहरू जस्ता प्रमुख गन्तव्यमा जाने विद्यार्थीहरूले भोग्दै आएका जटिल नीति, भिसा प्रक्रिया र कागजात सम्बन्धी चुनौतीलाई व्यवस्थित रूपमा सम्बोधन गर्नु यस कक्षको मुख्य उद्देश्य रहनेछ।
उक्त रणनीतिक कक्षमा ईक्यानभित्रका अनुभवी सदस्यहरूसँगै साना तथा ठूला परामर्श संस्थाका बाह्य विज्ञहरूलाई समेटेर विशेषज्ञ समूह निर्माण गरिनेछ। यस समूहले भिसा प्रवृत्ति, वित्तीय कागजात, छात्रवृत्ति अवसर र विश्वविद्यालय छनोटसम्बन्धी सूक्ष्म मार्गनिर्देशन प्रदान गर्नेछ। सदस्यहरूलाई प्रमाणित र अद्यावधिक जानकारी उपलब्ध गराउने यस कक्षको मुख्य जिम्मेवारी रहनेछ।
अन्तर्राष्ट्रिय समन्वय र नीतिगत पैरवीमा जोड
रणनीतिक कक्षमार्फत नेपालस्थित विदेशी दूतावास र कूटनीतिक नियोगसँग प्रत्यक्ष जानकारी सत्र सञ्चालन गर्ने तथा विदेशमा कार्यरत अध्यागमन कानुनविद् र अन्तर्राष्ट्रिय शिक्षाविद्हरूसँग विशेषज्ञ समूहमार्फत नीतिगत र कानुनी प्रत्यक्ष मार्गनिर्देशन उपलब्ध गराइने भुषालको योजना छ।
यसका साथै, प्रमुख नीति परिवर्तनहरूमा अग्रिम तयारी गर्ने, अवैध एजेन्ट र ग्रे मार्केट विरुद्ध संगठित रूपमा कदम चाल्ने र ईक्यान सदस्य संस्थाहरूलाई मात्र मान्यताप्राप्त अन्तर्राष्ट्रिय साझेदारको रूपमा स्थापित गर्ने लक्ष्यसमेत रणनीतिक कक्षले लिने उल्लेख गरिएको छ।
भुषालले सार्वजनिक गरेका यी दुई योजनाले ईक्यानलाई केन्द्र–शाखा समन्वयमा सुदृढ र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी संस्था बनाउने उद्देश्य स्पष्ट देखिएको विश्लेषकहरूको धारणा छ। आगामी निर्वाचनलाई संघको दीर्घकालीन दिशानिर्देशनसँग जोडिएको महत्वपूर्ण मोडका रूपमा हेरिँदै गर्दा, भुषालका यी थप योजनाले उनको नेतृत्व दृष्टि र कार्यान्वयन क्षमतामाथि बहस थप सशक्त बनाएको छ।
यस्ता छन् यसअघि सार्वजनिक योजनाहरु