काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी अध्यक्ष निर्वाचनलाई लिएर संगठनभित्र चासो र बहस बढ्दै गएको छ। यस निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार दिपकराज भुषालले संघलाई संस्थागत रूपमा सबल, मर्यादित र व्यावसायिक बनाउने लक्ष्यसहित स्पष्ट तथा दीर्घकालीन एजेण्डा सार्वजनिक गरेका छन्।
हाल इक्यानका महासचिव रहेका भुषाल करिब डेढ दशकदेखि संघका विभिन्न तहमा रहेर संगठन निर्माण र सञ्चालनमा सक्रिय रहँदै आएका अनुभवी नेतृत्व हुन्। शैक्षिक परामर्श व्यवसायको संरचना, चुनौती र सम्भावनाबारे गहिरो समझ राख्ने व्यक्तिका रूपमा उनलाई संघभित्र व्यापक रूपमा चिनिन्छ। अध्यक्षमा निर्वाचित भएमा उनले अघि सारेका एजेण्डाले ईक्यानको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सदस्यको अधिकार र राज्यस्तरीय औपचारिक मान्यता
भुषालको पहिलो प्राथमिकता इक्यानमा आबद्ध सम्पूर्ण शैक्षिक परामर्श संस्थालाई राज्यको औपचारिक मान्यता दिलाउनु रहेको छ। शिक्षा मन्त्रालय तथा सातै प्रदेश सरकारसँग सहकार्य गर्दै दर्ता भएका सदस्य संस्थालाई कानुनी हैसियत दिलाउने दिशामा पहल गरिने उनले बताएका छन्।
यस उद्देश्यका लागि महासचिवको नेतृत्वमा सुरु गरिएको एकद्वार दर्ता प्रणालीलाई अझ प्रभावकारी बनाइनेछ। उक्त प्रणालीमार्फत दर्ता प्रक्रिया सरल, पारदर्शी र सहज बनाउने लक्ष्य राखिएको छ। राज्यस्तरको मान्यता प्राप्त भएपछि सदस्य संस्थाको विश्वसनीयता वृद्धि हुनुका साथै विद्यार्थी र अभिभावकको विश्वास समेत मजबुत हुने विश्वास भुषालको छ।
साथै, शैक्षिक परामर्श क्षेत्रमा बढ्दो रूपमा देखिएको अवैध तथा अनधिकृत परामर्श व्यवसाय विरुद्ध कडा नीति अवलम्बन गरिने जनाइएको छ। गैरकानुनी रूपमा सञ्चालन भइरहेका संस्थाले व्यवसायिक मर्यादा कमजोर बनाएको र विद्यार्थीको भविष्य जोखिममा पारेको भन्दै भुषालले वैध व्यवसायीको हकहित संरक्षणलाई आफ्नो प्रमुख दायित्वका रूपमा अघि सारेका छन्।

व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम संरचना (एकेडेमी)
दोस्रो प्रमुख एजेण्डाका रूपमा भुषालले ईक्यानअन्तर्गत सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम संरचना स्थापना (एकेडेमी) गर्ने योजना सार्वजनिक गरेका छन्। ईक्यानमा आबद्ध सात सयभन्दा बढी सदस्य संस्थामा कार्यरत परामर्शदाता तथा कर्मचारीको दक्षता विकास गर्नु यसको मुख्य उद्देश्य रहनेछ।
यसअन्तर्गत ईक्यानबाट प्रमाणित परामर्शदाता कार्यक्रम सञ्चालन गरिनेछ। अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थासँग सहकार्य गरी तयार गरिने पाठ्यक्रमले परामर्श सेवाको गुणस्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, विश्वका विभिन्न विश्वविद्यालयका प्रतिनिधि तथा शिक्षाविद्हरूसँग ज्ञान आदानप्रदान कार्यक्रम आयोजना गरिनेछ। प्रत्येक प्रदेशमा गन्तव्य देशअनुसारको भिसा नीति, कानुनी प्रक्रिया तथा नैतिक परामर्श सम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि भुषालको एजेण्डामा समावेश छ।
वर्षभरि अनलाइन तथा भौतिक माध्यमबाट निरन्तर व्यावसायिक विकास कार्यक्रम र कर्मचारी तालिम सञ्चालन गरी सदस्यहरूको ज्ञान र सीप समयअनुसार अद्यावधिक गरिनेछ।

अनुसन्धान कक्षः तथ्यमा आधारित निर्णयको आधार
भुषालले अघि सारेको तेस्रो एजेण्डा ईक्यानअन्तर्गत अनुसन्धान कक्ष स्थापना गर्नु हो। विश्वव्यापी शिक्षाको बदलिँदो स्वरूप, नयाँ अध्ययन गन्तव्य, अन्तर्राष्ट्रिय भर्ना प्रवृत्ति, छात्रवृत्ति अवसर र नीतिगत परिवर्तनबारे समयमै जानकारी उपलब्ध गराउनु यसको उद्देश्य रहनेछ।
उक्त अनुसन्धान कक्षले नियमित रूपमा विश्व शिक्षा प्रवृत्ति तथा नीतिगत परिवर्तनको अध्ययन र विश्लेषण गर्नेछ। संकलित जानकारी मासिक रूपमा ईक्यानको अनलाइन सूचनामार्फत सदस्य संस्थालाई पठाइनेछ। यसले सदस्यलाई तथ्यमा आधारित निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अनुभव र निरन्तरतामा आधारित नेतृत्व
दिपकराज भुषाल लामो समयदेखि ईक्यानको संगठन निर्माण र सञ्चालनमा सक्रिय रहँदै आएका छन्। महासचिवका रूपमा उनले सरकारी निकायसँगको समन्वय, नीतिगत सुधार तथा सदस्य हितका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। संघ र समग्र शैक्षिक परामर्श व्यवसायप्रतिको उनको गहिरो समझ र अनुभव नै उनको प्रमुख शक्ति मानिन्छ।