काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेर्न हलमा पुगेका छन्। मंगलबार दिउँसो उनी काठमाडौँको कमलपोखरीस्थित बिग मुभिज पुगेर फिल्म हेरेका हुन्। लामिछानेसँगै उनकी पत्नी तथा चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेलसहित रास्वपाका विभिन्न नेताहरू पनि हलमा उपस्थित थिए।
रास्वपा नेताहरू तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, विनिता कठायत, गणेश कार्की लगायतले फिल्मको विशेष शो हेरेका छन्। त्यस्तै, रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका गायक तथा अभिनेता प्रकाश सपुतले पनि फिल्म हेरेका छन्। अभिनेता तथा निर्देशक निश्चल बस्नेतलगायत अन्य कलाकारहरूको पनि विशेष शोमा सहभागिता रहेको छ।
फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको र्याप समावेश गरिएको छ। यसका निर्देशक अर्जुन घिमिरे पाँडेबालेनका निकट मानिन्छन्। फिल्मको लेखनमा निर्देशक घिमिरे र रास्वपा नेता गणेश कार्कीले सहकार्य गरेका छन्। पुस ४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले पहिलो हप्तामै ६२ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। फिल्म हाल दोस्रो सातामा प्रदर्शनरत छ।